चितवन – पछिल्लो पाँच वर्षमा अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्नुपरेपछि किसानहरू विस्थापित भएका मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताउनुभयो ।

दुई वर्ष अघिसम्म नेपालमा लेयर्स कुखुरा पाल्ने फार्मको सङ्ख्या पाँच हजारभन्दा बढी रहेकोमा अहिले दुई हजारभन्दा तल झरेको छ । केही महिनाअघि विज्ञहरूले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र ‘मिडियम’ अण्डाको मूल्य १६ रुपैयाँ रहेको छ । अहिले भने लागत मूल्य नजिक रहेकोले केही राहत भएको मञ्चका अध्यक्ष भट्टले बताउनुभयो ।
नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल अहिले दुई लाख ८२ हजार उद्योगी बैंकको कालोसूचीमा रहेकामा तीमध्ये ४० प्रतिशत कुखुरापालक किसान एवम् पोल्ट्री व्यवसायी रहेका दाबी गर्नुहुन्छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उहाँले बताउनुभयो ।
नेपालमा अहिले दैनिक २५ लाख गोटा अण्डा उत्पादन भइरहेका छन् । तीन वर्षअघि दैनिक झन्डै ६० लाख अण्डा उत्पादन हुने गरेको थियो ।
