मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक पर्व बिबाह पञ्चमी आज विभिन्न धार्मिक कार्यक्रमसहित जनकपुरधाममा भव्य रूपमा सम्पन्न गरिएको छ। भगवान राम र देवी सीताको प्रतीकात्मक विवाहको स्मृतिमा मनाइने यो पर्वका अवसरमा जनकपुरधाममा देश–विदेशबाट हजारौँ भक्तजनको भीड लागेको छ।
विहानैदेखि जानकी मन्दिरमा विशेष पूजा–अर्चना, वैदिक मन्त्रोच्चार, र राम–सीता विवाह प्रक्रिया अनुष्ठान गर्दै धार्मिक विधिहरू सञ्चालन गरिएको थियो। मुख्य आकर्षणका रूपमा आयोजित रामजानकी विवाह सोहारा (झाँकी यात्रा) जनकपुरका प्रमुख मार्ग हुँदै सरिता होटलदेखि जानकी मन्दिरसम्म पुर्याइएको थियो।

स्थानीय प्रशासनले भक्तजनको सुरक्षाका लागि विशेष व्यवस्था गरेको जनाइएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सहर भरि सरसफाइ, बत्ती सजावट र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै वातावरण उत्सवमय बनाएको छ।
बिबाह पञ्चमी मिथिला क्षेत्रको मुख्य सांस्कृतिक पहिचानका रूपमा हरेक वर्ष मंसिर महिनामा मनाइन्छ। राम–सीताको दिव्य मिलनको सम्झनास्वरूप आयोजित यो पर्वले धार्मिक आस्था मात्र होइन, मिथिलाको संस्कृति, कला र परम्परा जोगाइराख्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।
