होली पर्वको महत्त्व

सनातन संस्कृतिको व्यक्तिमा ज्ञानको प्रसार गर्न, नैतिकताको पाठ सिकाउन, जिम्मेवारीको बोध गराउन र समाजमा लोक कला, संस्कृति र चाडपर्व परम्परा देखी मनाउदै गरेको देखिन्छ ।

चाडपर्व भनेकै मानिसहरूले आ–आफ्ना देवदेवीहरूको पूजाअर्चना गरी मिठा परिकार खाएर उत्सव मनाउनु हो । फागु पर्वलाई, वसन्तोत्सव, होली आदि अनेक नामले पुकारिन्छ । यस पर्वमा भगवान् र भक्ति, अनेक तत्त्व र तथ्यको उजागर भएको पाइन्छ ।

भगवान् विष्णुको चौथो नरसिंह अवतार यसै अवसरमा भएको हो, जसले असुरराज हिरण्यकशिपुको वध गर्‍यो । भगवानको तेस्रो वराहको कथा पनि चौथो अवतारको कथासँग जोडिएको छ । 
शास्त्रानुसार, भगवान विष्णुका २४ अवतार छन् । जसमा मुख्य हुन् — मत्स्य, कच्छप, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण र बुद्ध । 

हिरण्यकशिपु भगवान् विष्णुका विरोधी मात्र थिएनन्, उनी आफूलाई नै भगवान् मान्थे । तर छोरा प्रह्लादले भगवान् विष्णुको भक्ति गर्न थालेपछि उनी झस्किए । आफूले बालकै ठानेका छोराले आफ्नो विरोधीको भक्ति गर्न थालेपछि उनीमाथि अंकुश लगाउने निश्चय गरे । 

हिरण्यकशिपुका पूर्वज हयग्रीवको वध मत्स्यावतार विष्णुले र अरुणको वध भ्रामरी अवतार माता पार्वतीले गर्नुभएको थियो । तर यीमध्ये वराह र नरसिंह अवतारको सन्दर्भ फागु पर्वसँग जोडिएको पाइन्छ ।

विष्णु पुराणका अनुसार दैत्यहरूका आदिपुरुष कश्यप र उनकी पत्नी दितिका दुई पुत्र र एक पुत्री भए । जेठा हिरण्यकशिपु, कान्छा हिरण्याक्ष र छोरी होलिका थिइन् ।

मंगल समयको सहवासबाट जन्मेका कारण उनीहरू दैत्य प्रवृत्तिका भए । दैत्य दाजुभाइ भगवान् ब्रह्माको तपस्या गरी वरदान पाएर अहंकारी हुन पुगे ।

हिरण्याक्ष तीनै लोक आफ्नो अधिकारमा पार्न चाहन्थ्यो । युद्धमा अजेयको वरदान प्राप्त गरेका हिरण्याक्षले धर्र्तीका तमाम बलशालीलाई परास्त गर्दै धरतीलाई नै समुद्रमा डुबाएर लगे । अन्ततः अधर्मी हिरण्याक्षको अन्त्य गर्न भगवान् विष्णुले वराह अवतार लिएर हिरण्याक्षको वध गर्दै धर्तीको रक्षा गर्नुभयो । वराह अवतारको कारण अहंकारी हिरण्याक्ष बन्यो ।

भाइ हिरण्याक्षको वधका कारण क्रोधित हुन पुगेका दाइ हिरण्यकशिपु भगवान्को विरोधी बन्न पुगे । हिरण्यकशिपुकी पत्नीको नाम कयाधु थियो भने चारजना पुत्र थिए — प्रह्लाद, अनुहलाद, सहल्लाद र हल्लाद । दैत्यराज हिरण्यकशिपु भगवान ब्रह्माबाट वरदान प्राप्त गरेर शक्तिशाली भएका थिए । उनले आफ्नो राज्यमा कसैले पनि विष्णुको पूजा नगर भनी आदेश गरेका थिए । प्रह्लाद भने भगवान् विष्णुका भक्त थिए र ईश्वरमा उसको अटूट आस्था थियो । प्रह्लाद बाबुको आदेशविपरीत भगवान्को भक्तिमा लीन रहन थालेपछि बाबुछोराबिच त्यस्तो द्वन्द्व प्रारम्भ भयो, जसको अन्त्य भगवान् विष्णुको नरसिंह अवतार, हिरण्यकशिपुको वध र भक्त प्रह्लादको सिद्धिसँगै भयो । होलिका दहन, जसको स्मृतिमा होली पर्व मनाइन्छ, यसै कथाको अन्तर्वस्तुको एक महत्त्वपूर्ण घटना हो । 

हिरण्यकशिपु, उनका छोरा प्रह्लाद, बहिनी होलिका र नरसिंह अवतारसँग सम्बन्धित छ, होलिका पर्व । होली पर्वमा भगवान् र भक्तबिचको सम्बन्धको सन्देश पाइन्छ ।

मह्त्वपूर्ण पक्ष होलिका दहन 
होली पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । असुरराज हिरण्यकशिपुले छोरा प्रह्लादको शिक्षादीक्षाको जिम्मेवारी शण्ड र अमर्क (दैत्यगुरु शुक्राचार्यका छोराहरू) लाई दिएका थिए । उनीहरूको शिक्षादीक्षाबाटै प्रह्लादले शाश्वत र नश्वर वस्तुको ज्ञान पाएर भगवान् विष्णुका भक्त भएका थिए ।

हिरण्यकशिपु भगवान् विष्णुका विरोधी मात्र थिएनन्, उनी आफूलाई नै भगवान् मान्थे । तर छोरा प्रह्लादले भगवान् विष्णुको भक्ति गर्न थालेपछि उनी झस्किए । आफूले बालकै ठानेका छोराले आफ्नो विरोधीको भक्ति गर्न थालेपछि उनीमाथि अंकुश लगाउने निश्चय गरे । 

 हिरण्यकशिपुले साम–दाम–दण्ड–भेद सबै तरिका अपनाएर छोरालाई सम्झाउने–बुझाउने गरे; केही गरी नभएपछि तर्साउने र मार्ने षड्यन्त्र समेत गरे । पहाडबाट खसालेर, विषालु सर्पले टोकाएर, हात्तीले कुल्च्याएर, शरम्बरासुरद्वारा थरीथरीका मायाजाल प्रयोग गराएर, विष खुवाएर, समुद्रमा फ्याँकेर पनि प्रह्लादको ज्यान नगएपछि हिरण्यकशिपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरे । 

होलिकाले आफ्नो शरीरमा आगो उत्पन्न गर्न सक्ने तर आफ्नो शरीर नजल्ने वरदान पाएकी थिइन् । हिरण्यकशिपुले अह्राएपछि होलिकाले प्रह्लादलाई काखमा लिएर प्रज्ज्वलित भइन् । प्रह्लाद पनि आफ्ना आराध्य विष्णुमा लीन थिए । भगवानले भक्तको हमेशा रक्षा गर्छन् । भगवानको कृपाले होलिकाको वरदान विपरीत परिणाम भयो । होलिका स्वयं जलिन् र प्रह्लाद कुशल रहे ।

होलिकाको अवसानले हिरण्यकशिपुलाई अति क्रुद्ध बनायो । अनि उनी आफैँ प्रह्लादलाई मार्न उद्यत भए । प्रह्लादले आराध्यलाई पुकारे । भगवान्ले नरसिंह रूपमा प्रकट भई हिरण्यकशिपुको वध गर्नुभयो । यस कथा अनुसार होलिकाको अन्त्यको स्मृतिमा होलिका दहन र हिरण्यकशिपुको अन्त्यबाट असत्यमाथि सत्यको विजयको स्मृतिमा रङ–अबिर  एकले अर्कोलाई लगाएर फागु खेलिन्छ ।

वसन्तोत्सव
शिशिर ऋतु समाप्त भएर वसन्त ऋतु आउँदा मदनोत्सव, कौमुदी महोत्सव, वसन्तोत्सव मनाउने परम्परा रहिआएको छ । मदनोत्सव नै वसन्तोत्सव वा कुमुद महोत्सव हो ।

वसन्त ऋतुको आगमनको उत्सव नै वसन्तोत्सव हो । वसन्तोत्सव माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीबाट सुरु हुन्छ । भारतीय साहित्यमा पनि धेरै ठाउँमा मदनोत्सवको उल्लेख गरिएको छ । 

दक्षिण भारतमा वसन्तोत्सव मनाउने परम्परा अक्षुण्ण रूपमा चल्दै आएको छ । यो पर्व चैत्र शुक्ल त्रयोदशी, चतुर्दशी र पूर्णिमा गरी तीन दिनसम्म मनाइन्छ । 

जनकपुरमा पन्द्रदिने पारीक्रमा घुम्ने चलन ले गर्दा पारीक्रमा बासीहरु अन्त्ग्रिही परिक्रमा घुमे पछी नै होली मनाउने चलन ले गर्दा हाम्रो यहा तीन दिवसिय होली हुने गरेको देखिन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *